शीतल अधिकारी

कुनै समय चलचित्र क्षेत्रमा आफ्नो करियर खोज्दै गरेकी आशिका तामाङ समकालीन अवस्थामा सामाजिक सञ्जालमा निक्कै चर्चित छिन् l पेसाले नर्स आशिका १५ वर्ष जर्मनी बसेर हाल नेपाल फर्केकी छिन् l लामो समय जर्मन बस्दा पनि उनले आशिका फाउन्डेसन नामक संस्था स्थापना गरी दुख पिढामा रहेका नेपालीहरूलाई सहयोग गर्दै आएकी हुन् l नेपाल आए पश्चात् आशिका ससक्त ढङ्गले भ्रष्टाचार र राज्यको बेथितिविरुद्ध चर्को आवाज उठाउँदै आएकी छिन् l उनले भक्तपुरको सूर्यविनायक नगरपालिकामा भएको कथित अवैध शुल्क असुलीविरुद्ध एक्लै उभिएर स्थानीय प्रशासनको आलोचना गरेकी थिइन्। यो घटनाले उनलाई एक सशक्त जनप्रतिनिधिको रूपमा प्रस्तुत गर्यो, तर यससँगै उनको क्रियाकलापले कानुनी र नैतिक बहसलाई पनि निम्त्याएको छ।

सरकारको कमजोरीले जन्माएको असन्तोष
नेपालमा सरकार र प्रशासनिक निकायप्रतिको जनताको असन्तुष्टिले आशिका तामाङ जस्ता पात्रहरूको उदयलाई अपरिहार्य बनाएको छ। सरकारको कमजोरी र प्रशासनिक बेथितिहरूले गर्दा नागरिकहरूले आफूलाई असहाय र उपेक्षित महसुस गर्न थालेका छन्। जब राज्यले नागरिकको गुनासो सुन्दैन, समस्या समाधान गर्न सक्दैन, र प्रशासनिक सेवा प्रभावकारी रूपमा प्रदान गर्न असफल हुन्छ, त्यतिबेला जनताले सरकारको भूमिकालाई शंकाको नजरले हेर्न थाल्छन्। यही असन्तोषको स्थितिले वैकल्पिक पात्रहरूलाई जन्म दिन्छ, जसले अन्यायविरुद्ध आवाज उठाउन थालेका छन्। नेपालजस्तो देशमा, जहाँ स्थानीय निकायहरू र केन्द्रीय प्रशासनबीच समन्वय र प्रभावकारीता कमजोर छ, त्यहाँ जनता आफ्नो माग पूरा गर्न संघर्ष गर्न बाध्य हुन्छन्। विशेषगरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारीको नियन्त्रणमा सरकार असफल हुँदा जनताले आफ्नो समस्या कसले सुन्छ भनेर प्रश्न गर्न थाल्छन्। यस्तो अवस्थामा सरकारी संयन्त्रको भूमिकामा शून्यता महसुस भएपछि जनताले आफ्नै प्रतिनिधित्व गर्ने र आफ्नो कुरा सुनाउने पात्रहरूको खोजी गर्न थाल्छन्। तब अस्थायी नेतृत्वले समाजमा स्थान लिन थाल्छ। आशिका तामाङ त्यही निराशाको उपज हुन्।

तर, यो केवल समस्या समाधानको प्रयास मात्र होइन; यो सरकार र जनताबीचको असफल संवादको प्रतिबिम्ब पनि हो। जब राज्य संयन्त्र जनताको समस्यालाई सम्बोधन गर्न असक्षम हुन्छ, तब आशिका तामाङहरू जस्ता पात्रहरू नागरिकको भरोसा बटुल्न सफल हुन्छन्। वैकल्पिक पात्रहरूको उदयको पछाडि सरकारको लापरवाही र प्रशासनिक कमजोरी मूल कारण हो, र यस्ता प्रवृत्तिले प्रणालीलाई अझ कमजोर बनाउँदै जान्छ।

सकारात्मक पक्ष: नागरिक सचेतना र आवाजको प्रतिनिधित्व
आशिकाले ठूला व्यवसायी र स्थानीय प्रशासनविरुद्ध कालोबजारी र मनपरीतन्त्रको विरुद्धमा खुलेर उभिएर जनताको गुनासो बुलन्द बनाएकी छन्। यसले साधारण मानिसलाई आफ्नो हक अधिकारप्रति सचेत गराउँदै अन्यायका विरुद्ध बोल्न प्रेरणा दिएको छ। आशिकाको संघर्षले विशेष गरी समाजमा मौन बसेका र अन्याय सहन बाध्य नागरिकहरूलाई प्रोत्साहित गरेको छ। जनताले महसुस गरेका बेथिति र बेवास्तालाई उनले उजागर गर्दै उनीहरूको आवाज बन्ने प्रयास गरेको देखिन्छ । यसले नागरिकहरूलाई केवल सरकारको भर पर्नुभन्दा पनि व्यक्तिगत रूपमा सचेत भई प्रतिकार गर्न प्रेरित गरेको छ। उनका क्रियाकलापले “अराजक” को रूपमा आलोचना पाए पनि उनले उठाएका मुद्दाहरूले समाजमा गम्भीर बहस निम्त्याएको छ।
आशिकाले देखाएको सक्रियता सामाजिक जागरणको एउटा महत्त्वपूर्ण संकेत हो। जब प्रशासन र कानुनी निकायले आफ्नो भूमिका निभाउन असफल हुन्छन्, त्यस्तो बेला उनले हस्तक्षेप गरेर जनताको तर्फबाट लड्न आँट गरिन्। नागरिकका गुनासो सम्बोधन गर्नुपर्ने जिम्मेवारी सरकार र राज्यसंयन्त्रको हो, तर जब यिनै निकायहरू निष्क्रिय भइदिन्छन्, आशिका जस्ता पात्रहरूले अन्यायका विरुद्ध जनताको साथमा उभिने प्रयास गर्छन्। उनको संघर्षले जनतालाई अन्याय देख्दा चुप नलाग्न र आफ्नो हकका लागि आवाज उठाउन प्रेरणा दिएको छ। थुप्रै मानिसहरूलाई कानूनी र सामाजिक अन्यायका मुद्दाहरूमा जागरूक बनाउनु उनका कामहरूको ठूलो उपलब्धि हो। यो नागरिक सचेतनाको भावनालाई जागृत गर्दै उनले राज्यका कमजोरीहरू देखाइदिएकी छिन्, जुन दीर्घकालीन त होईन तर तत्काल समाजमा भने ठूलो प्रभाव पार्न सफल भएको देखिन्छ।

नकारात्मक पक्ष: अराजकता कि कानुनी उल्लंघन?
आशिका तामाङका क्रियाकलापलाई केहीले सामाजिक जागरणको प्रतीक माने पनि कानूनी र नैतिक दृष्टिले गम्भीर प्रश्नहरू उठेका छन्। उनीमाथि सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको आरोप लगाइएको छ, जसले उनीप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूलाई समेत चिन्तित बनाएको छ। स्थानीय प्रशासनले आशिकाको कदमलाई कानुनको उल्लंघनका रूपमा चित्रण गरेको छ, जसले विधिको शासन र सार्वजनिक शान्तिलाई कमजोर बनाउने खतरामा संकेत गरेको छ। सिस्टमले काम नगरेको अवस्थामा आशिकाजस्ता पात्रहरूको उदय हुने भए पनि यो दीर्घकालीन समाधान होइन। व्यक्तिगत आक्रोश र अराजकताबाट सन्देश प्रवाह भए पनि यसले संस्थागत व्यवस्थामा खलल पुर्याउँछ। जब कानुनी प्रणालीलाई तोडफोड र हिंसात्मक व्यवहारबाट चुनौती दिइन्छ, यसले राज्यलाई अझ कमजोर बनाउँछ र समस्याहरू समाधान हुनेभन्दा गहिरो बनाउँछ।
यस्ता गतिविधिहरूले तत्काल राहतको महसुस गराउन सक्छन्, तर दीर्घकालमा यसले समाजमा नयाँ समस्याहरू सिर्जना गर्न सक्छ। कानूनी व्यवस्था र संस्थाहरूको सम्मान बिना न्याय र स्थायित्व सम्भव छैन। त्यसैले, सुधारको बाटो अराजकतामा होइन, बरु कानूनी र संस्थागत प्रक्रियाहरूलाई बलियो बनाउनमै छ।

निस्कर्ष
आशिका तामाङको प्रकरणले राज्य संयन्त्रको कमजोरी स्पष्ट रूपमा उजागर गरेको छ। सरकार र प्रशासन जब आफ्नो जिम्मेवारीबाट पन्छिन्छन्, त्यतिबेला जनताले आशिकाजस्ता वैकल्पिक पात्रहरू खोज्छन्, जो उनीहरूको गुनासोलाई सम्बोधन गर्छन्। तर, समस्या समाधानका लागि सरकारले दबाब र दमनको बाटो रोज्नुको सट्टा आफ्ना कार्यशैली र प्रणालीमा सुधार गर्नुपर्छ।

यदि सिस्टम प्रभावकारी र जिम्मेवार बनाइयो भने आशिका तामाङजस्ता पात्रहरूको आवश्यकता नै हुँदैन। कानूनी र संस्थागत संरचना बलियो हुनु र जनताको विश्वास फिर्ता ल्याउनु नै दीर्घकालीन समाधान हो। आशिकाले उठाएका मुद्दाहरू सरकारका लागि चेतावनी हुन्—विधिको शासन स्थापित गर्दै समाजको वास्तविक समस्या समाधान गर्नतर्फ ध्यान दिन जरुरी छ, नत्र यस्ता वैकल्पिक पात्रहरूले समाजलाई भडखालो तर्फ लाने निश्चित छ ।