टिकाराम बास्तोला / इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षमा कक्षा २ मा भर्ना भएका थिए। अहिले ७४ बर्षमा आइपुग्दा कक्षा ४ मा पुगेका छन् !यो उमेरमा उनी स्कुल भर्ना भएर साना साना उमेरका बालबालिकासँग बसेर लेखपढ गर्छन्  । ७२ बर्षमा स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् ।

शिक्षकले दिएको गृहकार्य नियमित गर्छन् । ‘हेडमास्टरले ५ कक्षामा भर्ना भए हुन्छ भन्नुभएको थियो,’ विकले भने, ‘तर मैले नै मानिनँ, सानै किलासबाट सुरु गरौं भन्ने लाग्यो ।’

जीवनभर स्कुलमा पाइलै नटेकेका विकलाई १२ वर्षयता भने पढ्ने हुटहुटी थियो । तर, घर परिवारको असहयोगले रहर पूरा गर्न पाएका थिएनन् । ‘सानामा घरको आर्थिक स्थितिले पढ्न पाइएन,’ उनले सुनाए, ‘पछि श्रीमती र छोराछोरीले जान दिएनन् ।’

छ वर्षअघि एउटा घटनामा बात लागेर छोरा जेल परे । पत्नी बितिन् । छोरीहरू बिहे गरेर गए । चार सन्तानका पिता भए पनिउनी अहिले घरमा एक्लै छन् । आम्दानीको स्रोत सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र छ । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी पो भइन्छ कि जस्तो भयो,’ उनी भन्छन्, ‘त्यही भएर मन भुलाउन स्कुल भर्ना भएँ ।’

भर्ना हुन पहिलोपटक स्कुल जाँदा शिक्षक र विद्यार्थी दुवै झस्किएका थिए । घरमा आराम गर्ने उमेरमा किन स्कुल पढ्नुपर्‍यो भनेर छरछिमेकले पनि हतोत्साही पारे । तर, उनी पछि हटेनन् । ‘जसले जेसुकै भनून् भनेर अघि बढें’, विकले सुनाए, ‘स्कुल जान थालेपछि मन पनि शान्त भएको छ ।’ बाथका बिरामी उनी डेढ किलोमिटर नियमित हिँडेरै कक्षा धाउँछन् । नियमित हिँडाइले बाथको समस्या पनि कम हुँदै गएको उनको अनुभव छ । एक्लो जीवन बिताइरहेका विकका लागि स्कुल भर्ना भएर पढ्नुले मानसिक रूपमा आराम दिएको देखिन्छ