बिर्तामोड, झापा / समाजमा मौलाउँदै गएको राजनीतिक विकृति र बदलिंदो मानवीय सम्बन्धको सन्देश बोकेको चलचित्र ‘नरसिंहा अवतार’ को प्रचार–प्रसार अभियान सोमबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ। महानायक राजेश हमाल सहित प्रमुख कलाकार तथा निर्माण टिम झापा आएर दर्शकसँग प्रत्यक्ष संवाद गरेका छन्।

QFX सिनेमा हल र पाथिभरा सिने प्लाजामा फिल्म हेर्न आएका दर्शकलाई अभिनन्दन गर्दै, हमालले चलचित्रले उठाएका मुद्दा नेपाली समाजकै यथार्थ भएको उल्लेख गरे।

“दर्शकको मन छोएको प्रतिक्रिया पाउँदा हामी हर्षित छौं,” हमालले भने, “यो फिल्म केवल मनोरञ्जन मात्र होइन, समाजप्रति प्रश्न खडा गर्ने प्रयास हो।”

यस अवसरमा अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, निर्माता–निर्देशक छविराज ओझा, नरेन्द्र महर्जन लगायत टोलीले झापा बासीसँग चलचित्रको प्रतिकृया लिन आएका छन ।

चलचित्रमा सरोज खनाल, नीर शाह, नीति शाह, दीपा शाही, उषा खड्गी, साथै बालकलाकार एभेलिना खड्का र समाइरा थापा को सशक्त अभिनय रहेको छ। निर्माण पक्षमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने को संयुक्त लगानी रहेको छ।

कार्यक्रमको सहजीकरण नेपाल सांस्कृतिक महासंघ झापाका अध्यक्ष कुमार सिलवाल र सुनिता तामाङले गरेका थिए।