बिर्तामोड । किशोरीमथि जवरजस्ती करणी गरेको अभियोगमा बिर्तामोडका पुर्व मेयर ध्रुबकुमार शिवाकोटी पक्राउ परेका छन् ।आफ्नै घरमा काम गर्न राखेको एक किशोरीमाथि पटक पटक करणी गरेको अभियोगमा शिवाकोटी पक्राउ परेका हुन् ।शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरि अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनी बुझाएको छ ।

करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड-५ मा रहेको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १७ बर्षिया किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ ।

बाबुको मृत्यु भएपछि उनी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिईन । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई शिवाकोटीले ‘नातीको साथी’ हुने भन्दै आफुले घरमा राखेर पढाउने भन्दै मागेका थिए ।

बाबुको मृत्यु भएपछि काँकडभिट्टामा रहेका आफन्तकोमा बस्दै आएकी उनकी आमाले पनि दोस्रो बिवाह गरेकी छन्। दोस्रो बिवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन् ।
अभिभावक बिहिन किशोरी र उनका दाजु काँकडभिट्टामा रहेको आफन्तको आश्रयमा थिए । पीडितका दाजु काँकडभिट्टामा नै बस्न थाले भने उनी बिर्तामोडमा बस्न थालिन । सोही समयमा शिवाकोटीले उनलाई घरमा राखेर अध्ययनको व्यवस्था मिलाउने भन्दै लगेका बुझिएको छ ।

स्थानीय एक बिद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताईएको छ । शिवाकोटीको शारीरिक षण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टा गेटमा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यहि घरमा जानुपर्छ भनेर अतालिएकी थिईन्। फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा उनले सार्वजनिक गरेको एक कर्मचारीले जानकारी दिए । सोधपुछका क्रममा पुर्व मेयर शिवाकोटीको जवरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिईन । त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकामा निर्वाचित भएका थिए । ५ बर्ष नगरपालिकाको मेयर भएका उनी किशोरीमाथि लामो समयदेखि करणि गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका हुन् ।