झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको हल्दिबारी आधारभूत अस्पतालमा बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दो रहेको छ। अस्पताल स्रोतका अनुसार हाल दैनिक १२० देखि २०० सम्म बिरामी सेवा लिन आउने गरेका छन्।

धेरैजसो बिरामी ज्वरोको समस्या लिएर आउने गरेका छन् भने अन्य विविध स्वास्थ्य समस्याका बिरामीहरू पनि अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन्।

पालिका स्रोतका अनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित हल्दिबारी आधारभूत अस्पतालमा सेवा विस्तार भइरहेको छ। बिरामीको चाप बढेसँगै थप उपकरणहरू जडान गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

यसैबीच, पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले अस्पतालमा आवश्यक पूर्वाधार तथा सेवामा सुधार ल्याउँदै लगिने जानकारी दिए। उनका अनुसार, स्वास्थ्य सेवा थप व्यवस्थित र गुणस्तरीय बनाउन पालिकाले निरन्तर प्रयास गरिरहेको छ।

पछिल्लो समय हल्दिबारी आधारभूत अस्पतालमा थाइराइड (Thyroid) परीक्षण तथा भिडियो एक्स-रे (Video X-ray) सेवा पनि सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित थप सुविधा थपिँदै गएको अस्पताल प्रशासनले जनाएको छ। यससँगै स्थानीय बासिन्दाहरूलाई अब साधारण परीक्षणदेखि विशेषज्ञ स्तरका सेवा स्थानीयस्तरमै उपलब्ध हुन थालेका छन्।