Advertisement

दमक । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) ले जनतालाई उत्पादनसँग जोड्नु अहिलेको आवश्यकता भएको बताएका छन् । आज दमकमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले त्यस्तो धारणा राखेका हुन् ।

नेकपा माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटिले पार्टी कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी शर्माले समाजवादको रटानले मात्र समाजवादमा नपुगिने र त्यसका लागि स्पष्ट कार्यदिशा र कार्यक्रम आवश्यक रहेको बताए । २०६० को दशकमा शान्ति सम्झौता नहुँदै ‘उत्पादन र विकास’ लाई नारा बनाउन आफुले नेतृत्वलाई सुझाएको भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको गुनासो गरे ।

संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटीले अघि सारेको १ लाख बिरुवा रोप्ने कार्यक्रमको प्रशंसा गर्दै नेता शर्माले त्यो बेलादेखि नै पार्टीले यो नारा अघि बढाएको भए यतिबेला मुलुक हरियाली भइसक्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र झापाका संयोजक अग्नी आचार्य (राजु)ले पद्धतीमा हिड्न नसकेकाले पार्टी बलियो हुन नसकेको जिकिर गरे । सोझासिधा र इमान्दार कार्यकर्ता जहिले पछि पर्नुपर्ने र बिचौलिया हाबी हुने हुँदा पार्टी गलत दिशा तिर धकेलिएको उनले गुनासो गरे । ‘पार्टी लामो समयदेखि सरकारमा छ तर इमान्दार कार्यकर्ताको कुरा नेतृत्वले सुन्दैन,’ उनले भने, ‘बिचौलियाले योजना पार्छ, दुई बर्षपछि गाडी चढ्छ, घर बनाउँछ ।’ पार्टी बनाउन बिचौलियाको अन्त्य हुनुपर्ने र नेता जनतामाझ जानु पर्ने उनले सुझाए । उनले दमक क्षेत्रमा ४२ हजार लिची, आँप, अम्बक, अनार लगायतका फलफुलका विरुवा वितरण गरिसकेको जानकारी दिए । 

Advertisement

कार्यक्रममा केन्द्रिय सदस्य रञ्जित तामाङ, हरिकुमार राना लगायतले मन्तव्य राखेका थिए । दमक नगर कमिटी अध्यक्ष रबि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), प्रदेश सदस्यहरु भवानीप्रसाद दंगाल (भानु), सीपी कडरिया, गगन पुरी, खड्ग कन्दङ्वा (रोशन), दुर्गा चम्लागाई (श्रीकान्त), नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

नगर सचिव डम्बर बोहोराले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई इञ्चार्ज बेदु गौतमले स्वागत गरेका थिए ।

Advertisement