झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित टिमाई खोलामा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार अन्दाजि ४० देखि ४५ वर्ष उमेरको, पहाडी मूलको जस्तो देखिने ती पुरुषको शव २०८२ जेठ १५ गते दिउँसो करिब १२:३० बजे खोलामा घोप्टो परेको अवस्थामा देखिएको थियो। घटनाबारे दिउँसो १:०० बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्त भए लगत्तै प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

उक्त स्थान इलाका प्रहरी कार्यालय धुलाबारीबाट करिब २ किलोमिटर पश्चिम-दक्षिणतर्फ पर्छ। घटनास्थलमा पुगेर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, विराटनगर पठाइएको छ।

स्थानीयवासीका अनुसार ती पुरुष पछिल्ला केही दिनदेखि धुलाबारी बजार क्षेत्र वरपर माग्दै हिंड्ने गरेका थिए। उनी विगत ४/५ दिन यता क्षेत्रमै देखिने गरे पनि पहिचान खुल्ने कागजात वा परिचय खुलाउने कुनै वस्तु फेला परेको छैन।