टिकाराम बास्तोला / भारतीय एक युवाले जातीय पहिचान र खोजका लागि नेपाल र भारतको साइकल यात्राका क्रममा झापा आएका छन् ।

७ महिनाअघि साइकल यात्रा सुरु गरेका भारतको आसाम राज्यस्थित बाक्सा जिल्लाका २६ बर्षिय राजीव बोडोले नेपालको महाकालीबाट यात्रा सुरु गरी झापाको हल्दीबारी आइपुगेका हुन् । नेपालमा मेचे जातिको बसोबास रहेको हल्दीबारीमा उनीहरुको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा गरेको उनले बताए ।हल्दीबारीम सञ्चारकर्मीसँग कुरा गर्दै बोडोले नेपाल र भारतको कला, संस्कृति मिल्दोजुल्दो रहेको बताएका छन् ।

उनले सांस्कृतिक पहिचानका लागि नेपाल र भारतबीच पर्यटकीय सम्भावना रहेको बताएका छन् । उनले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नेसमेत बताएका छन् ।उनलाई हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधिले बुधबार सम्मान गरेका थिए । हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले सम्मान गर्दै बोलोलाई नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै बोडोले नेपालको आतिथ्यता उत्कृष्ठ रहेको बताए । उनले नेपाल र आसामका नागरिकको जीवनस्तर मिल्दोजुल्दो भएको भन्दै यहाँ आउँदा आफ्नै घरमा पुगेको अनुभुति भएको बताएका थिए । नेपालमा पर्यटकीय सम्भावना धेरै रहेको अनुभव उनले सुनाए । आगामी दिनमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग गर्ने भ्लगरसमेत रहेका बोडोले प्रतिबद्धता जनाए ।