मेचीनगर । झापा प्याब्सनको आयोजनामा भएको जिल्लास्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलकी छात्रा मासुम लावती गायनतर्फ झापा प्रथम भएकी छिन् ।
झापाको दमकमा पुस २ गते भएको साँस्कृतिक प्रतियोगितामा पारिजात स्कूलको कक्षा ८ मा अध्ययनरत् लावती मावितर्फको गायन प्रतियोगितामा सर्वोत्कृष्ट भएकी हुन् । उनले ‘उकाली ओराली’ भन्ने गीत गाएकी थिइन् ।
प्याब्सन मेचीनगरबाट उत्कृष्ट बन्दै उनी जिल्ला प्रतियोगितामा सहभागी भएकी थिइन् । जिल्ला प्रथम भएसँगै मासुमले प्रदेशस्तरीय साँस्कृतिक प्रतियोगितामा अवसर पाएकी छिन् । सर्वोत्कृष्ट भएसँगै उनले ट्रफी तथा प्रमाणपत्र पाएकी छिन् ।
सानैदेखि पढाइसँगै गायनमा रुचि राख्ने मासुम यसअघिका विभिन्न गायन प्रतियोगितामा पनि उत्कृट बन्दै आएकी छन् । मासुम कोशी आइडलमा टप चार पुग्न सफल भइसकेकी छिन् ।
जिल्ला प्रथम भएसँगै मासुम लावतीलाई मंगलवार विद्यालयले सम्मान गरेको छ । विद्यालयको नाम राख्न सफल भएको भन्दै उनलाई विशेष सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद कुमार प्रधानले बताए । पढाइसँगै अतिरिक्त क्रियाकलापमा पारिजात स्कूल उत्कृष्ट बन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्