२०८२ असार ९, राजेश आचार्य ।बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशन आजबाट सुरु भएको हो। अधिवेशनको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाइँले विभिन्न विकास योजनाहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, उपाध्यक्ष शान्ता देवी शिवाकोटीले आय-व्यय विवरणसहितको बजेट प्रस्ताव पेश गर्नुभयो।

कोशी प्रदेश गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ अनुसार संचालन गरिएको उक्त सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गर्नुभएको थियो।

गाउँसभामा विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र विभिन्न विषयगत समितिका प्रतिवेदनहरू पनि पेश गरिएका छन्।

१७ औँ अधिवेशनको दोस्रो बैठक यही असार १३ शुक्रबार गते बिहान ८ बजेदेखि बस्नेछ ।