Advertisement

बिर्तामोड, झापा – बिर्तामोड ९ गरामनीका प्रसाईं परिवारले चार वर्षअघि दिवंगत मातापिताको नाममा स्थापना गरेको अक्षयकोषको चौथो स्मृति सभामा विशेष कार्यक्रमको आयोजना सम्पन्न भएको छ।

यस अवसरमा, प्रसाईं ट्रस्ट/कल्याणकारी कोष झापालाई एक लाख एक सय आर्थिक सहयोग र एघार हजार सदस्यता शुल्क हस्तान्तरण गरिएको छ। अमेरिका निवासी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको चौथो वार्षिक कार्यक्रम सम्पन्न गरेका हुन्। यस वर्ष अक्षय कोषमा पाँच लाख रुपैयाँ थप गरी कुल रकम १० लाख पाँच हजार रुपैयाँ पुर्याइएको छ।

कार्यक्रममा, बिर्तामोड ९ निवासी मीना आचार्यलाई नगद पाँच हजार रुपैयाँले सम्मान गरिएको छ, जसले आफ्ना सासू ससुरालाई आफ्नै बुवा आमा जस्तै सम्झेर दायित्व पूरा गर्दै आइरहेकी छन्। यसले सम्पूर्ण बुहारीहरूलाई आदर्श बुहारी बन्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

स्मृति सभामा, बिर्तामोड नपा ९ का अशक्त व्यक्ति समीर राजवंशीलाई नगद पाँच हजार सहयोग स्वरूप हस्तान्तरण गरिएको छ। साथै, क्यान्सर पीडित बिर्तामोड नपा ९ नारायण कृष्ण टोलकी फागीमाया पाठक (पराजुली) लाई पनि नगद पाँच हजार सहयोग प्रदान गरिएको छ।

Advertisement

कार्यक्रममा बिर्तामोड नपा ९ का प्यारालाईस बिरामी राजेन्द्र भण्डारीलाई पनि नगद पाँच हजार सहयोग हस्तान्तरण गरिएको छ। साथै, बिर्तामोड नपा ९ मा रहेको दुर्गा माविमा अध्ययनरत कक्षा ८ की जेहेन्दार विद्यार्थी लिला बुडाथोकीलाई नगद पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।

देवकोटा आधारभूत प्राविमा अध्ययनरत छात्रछात्रालाई १५ हजार रुपैयाँ बराबरको स्टेशनरी समान विद्यालयमै वितरण गरिने निर्णय गरिएको छ।

Advertisement

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कमल संग्रौलाले गरेका थिए। स्वागत मन्तव्य जय कुमार प्रसाईंले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथि दुर्गा माविका प्रअ लक्ष्मण शिवाकोटी, पूर्व मन्त्री खगेन्द्र प्रसाईं, कुल प्रसाद खरेल, पुर्ण प्रसाद ओडारी, गोकुल भट्टराई, गोपि कृष्ण प्रसाईं लगायतले धारणा व्यक्त गरेका थिए।

समाजमा सामाजिक काम गर्नु ठुलो धर्म भएको र यसले पुन्य अर्जन गरेको बताउँदै कार्यक्रम सफलताको कामना व्यक्त गरिएको थियो।

अन्त्यमा, प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम प्रसाईंले प्रतिष्ठानको उद्देश्य र कार्यक्रमको बारेमा जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन लोकेंद्र प्रसाईंले गरेका थिए।