बिर्तामोड झापा / झापाको बिर्तामोडमा सहारा साहित्य साँझ हुने भएको छ ।  पत्रकार सम्मेलन गर्दै वीरता लेडी जेसीजले सहारा साहित्य साँझको तयारी गरेको जनाएको हो ।

मंसिर २१ गते बिर्तामोडस्थित इन्द्रेणी ब्याङक्वेटमा आयोजना गरिने साहित्य साँझ र गजल सन्ध्यालाई भव्य बनाइने लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, कबी मनु मञ्जील र मिश्र बैजयन्तीको प्रस्तुति रहने छ । साहित्यमा यौन मनोविज्ञान र प्रेम संवाद विषयक प्यानल डिस्कशन हुने अध्यक्ष ओलीको भनाई छ ।

सो कार्यक्रम पश्चात नारी गजलकार सिन्धू निरौलालगायतको सहभागितामा गजल सन्ध्या हुनेछ । गजल सन्ध्याको सहजकर्ता साहित्यकार लीला अनमोलले गर्ने बताइएको छ । गजल सन्ध्यामा एक सय रुपैयाँ शुल्क लाग्नेछ ।
साहित्य, कलाको जगेर्णा गर्ने मुख्य उद्देश्य रहने कार्यक्रममा सम्पन्न गर्न सहारा नेपालको आर्थिक सहयोग रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आफ्नो कार्यकालको अन्तिममा साहित्य कला सम्बन्धी कार्यक्रम गर्दै विदा हुने ओलीको भनाई थियो ।

पूर्व अध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू पार्बता खरेल बिमली, संगिता चिमरिया, निवर्तमान अध्यक्ष संगीता गिरीलगायतले साहित्य उत्सव सफल बनाउन धारणा राखेका थिए ।