झापाको बिर्तामोड नगरपालिका–७ स्थित रेखाटोल र सिताराम टोलमा तीन वटा जंगली हात्ती प्रवेश गरी घर तथा खाद्यान्नमा ठूलो क्षति पुर्‍याएका छन्।

रेखाटोलका अमरबहादुर संग्रौलाको एकतले पक्की टिनको छानो भएको भान्सा घर हात्तीले भत्काएर पूर्ण रूपमा क्षति पु-याएको छ। प्रारम्भिक अनुमान अनुसार घरको क्षति मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ।

यस्तै, सिताराम टोलका तुलसीप्रसाद मैनालीको घरबाट हात्तीले करिब ३ मन धान खाएको र घरको एक साइडको वाल भत्काएको जनाइएको छ। मैनालीलाई भएको अनुमानित क्षति करिब १ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ।

जम्मा गरी दुई परिवारलाई हात्तीको आक्रमणबाट तीन लाख बीस हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। घटनापछि वडा अध्यक्ष अबिरल कृष्ण खरेलको नेतृत्वमा जनप्रतिनिधि टोली घटनास्थल पुगेर पीडितहरूसँग भेटघाट गरी अवस्थाको स्थलगत अवलोकन गरेका छन्।