बिर्तामोड झापा / आज बाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’ को मुख्य टीम बिर्तामोड आइपुगेकोछ ।

आज बाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’ को मुख्य टिम बिर्तामोड आइपुगेको छ । सिनेमा प्रदर्शनमा आएको दिन मुख्य कलाकारहरु प्राय काठमाण्डौ केन्द्रित हुने गरेकोमा मनसरा टिमले भने प्रदर्शनको पहिलो दिन मोफसल पुर्वबाट हल भिजिट सुरुवात गरेको छ । बिहीवार कोशी प्रदेशको राजाधानी बिराटनगरमा ग्राण्ड प्रिमियर सम्पन्न गरे संगै टिमले इटहरीबाट हल भिजिट सुरु गरेको थियो । इटहरीको दुई सिनेमाहलहरु इलाइट सिनेमा हल र QFX सिनेमाको हल भिजिट सकेर टिम धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पुगेको थियो । फ्रेण्ड सिनेमाजमा मनसराको पहिलो शो बिहान ८ बजे राखिएको थियो । पहिलो शो मा सिमित दर्शक आएपनी ३:४५ को शोमा कलाकार आउने सुइको पाएपछी ओइरिएका दर्शकहरुले हल खचाखच भरिएको थियो ।

टिममा कार्यकारी निर्माता सिजन दाहाल, कलाकार दयाहाङ् राई, मिरुना मगर, हेमन्त बुढाथोकी, बाल कलाकार निनाहाङ राई लगायतको टिम रहेको छ । टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् ।