टीकाराम बास्तोला
इलाम – झापा हुँदै इलाम,पाँचथर र ताप्लेजुङ जाने मेचि राजमार्गको सडक किनारमा अहिले स्थानीय फलफूलको व्यापारले विशेष आकर्षण पाएको छ। इलाम सानो गोदकका किसानहरू आफ्नै बगैँचामा फलेको ताजा लिच्ची लिएर सडक छेउमै बसेर बिक्री गरिरहेका छन्।

रूखको छायामा पालो गरेर बसेका यी किसानहरू बिहानैदेखि लिच्ची बिक्रीका लागि बस्छन् र साँझसम्म सयौं ग्राहकको सेवामा जुट्छन्। उनीहरूका अनुसार दैनिक रूपमा तीन हजार रुपैयाँभन्दा बढीको लिच्ची बिक्री भइरहेको छ।

“हामीले गाउँकै बगैँचामा उत्पादन गरेका लिच्ची यहाँ ल्याएर बेच्छौं,” एक किसानले भनिन्, “ताजा र मिठो लिच्ची भएकाले धेरैले मन पराउँछन्।”

मेचि राजमार्गबाट यात्रा गर्ने यात्रुहरू, स्थानीय बासिन्दा र आन्तरिक पर्यटकले समेत यहाँको लिच्ची स्वाद लिन्छन् र किनमेल गर्छन्। बाटोको दृश्यावलोकन गर्दै रमाइलो यात्रा अनुभव सँगसँगै ताजा फलफूलको स्वाद लिन पाउनु यात्रुहरूको लागि थप अनुभव बन्न पुगेको छ।

यसरी सडक किनारमा आफैंले उत्पादन गरेका बाली बेचेर जीविकोपार्जन गर्दै आएका किसानहरू आत्मनिर्भर हुँदै गएका छन्। यो दृश्यले ‘कृषि पर्यटन’ को पनि झल्को दिन थालेको छ।