लेखापढी व्यवसायी प्रमाणपत्र दिन झापा जिल्ला अदालतबाट लेखापढी प्रशिक्षार्थीको परिक्षा सम्पन्न भयो । झापा जिल्ला अन्तर्गत अदालत, मालपोत, नापी, यातायात, सुरक्षा निकाय र स्थानीय तह लगायतका बिभिन्न सरकारी कार्यालयमा लिखत, निवेदन र कागजात मस्यौदा गर्न, लेखन गर्न आवश्यक पर्ने लेखापढी गर्ने जनशक्ति उत्पादनका लागी विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा झापा जिल्ला अदालतबाट परीक्षा सञ्चालन गरिएको थियो । 

    सो परिक्षामा झापा जिल्ला अदालतका माननीय न्यायाधीशहरु अशोककुमार बस्नेत,  प्रकाश अधिकारी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल समेतबाट अनुगमन भएको थियो।  त्यस्तैगरी जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता रुद्र आचार्य, झापा बार इकाइका अध्यक्ष नारायण प्रसाद भट्टराई समेतका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ताहरु एवं लेखापढी एशोसिएशन झापाका अध्यक्ष लावण्य कुमार पोखरेल समेतबाट परीक्षाको अनुगमन भएको थियो।

यस भन्दा अगाडी २०७४ सालमा मात्र लेखापढीको परिक्षा गराई सफल प्रशिक्षार्थीलाई प्रमाणपत्र दिएकोमा हाल झापा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा लेखापढी गर्ने जनशक्तिको कमी भएकोले लेखापढीको परिक्षा लिनुपरेको भनि झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश श्री अशोककुमार बस्नेतले बताउनु भयो।

आज सम्पन्न परिक्षामा ५५० भन्दा बढी प्रशिक्षार्थीको उपस्थिति रहेको र  परीक्षाको रिजल्ट समेत चाडै हुने भनि झापा जिल्ला अदालतका श्रेस्तेदार तथा परिक्षा समितिका संयोजक किरण सिंहले बताउनु भयो।

 परिक्षामा उतिर्ण हुने लेखापढी व्यवसायीहरुले प्रमाणपत्र लिएछौ विभिन्न सरकारी कार्यालयमा लेखापढी ईमान्दारीका साथ गरेमा कार्यालयको सेवा अझ सर्वसुलभ रुपमा सेवा प्रवाह हुने देखिन्छ भनी झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनुभयो।