टीकाराम बास्तोला
सबैलाई हसाउने बाल हाँसो, मिठो स्वरमा गुञ्जने दोहोरी गीत, अनि हरेकको मुटु छुने सरल स्वभाव। यी सबैले सचिन परियारलाई समाजको प्रिय बनायो। उनको बाल्यकालको प्रतिभा र उत्साहले हरेकलाई मोहित तुल्यायो। तर आज, त्यो उज्यालो नक्षत्र अस्ताएको छ।

सचिनले दोहोरीका मैदानमा रमाउँदै, हरेक गीतमा जीवनको रङ भर्दै हामीलाई खुसी बाँडे। उनको स्वरले हाँस्न सिकायो, झुम्न सिकायो। सानो उमेरमै उनले देखाएको आत्मविश्वास, साहस, र कलाले लाखौं नेपालीको मन जित्यो। तर त्यो मिठासभित्र उनी लडिरहेको द्वन्द्व र उनको जीवनका चुनौतीहरू हामीमध्ये धेरैले बुझ्न सकेनौँ।

सचिन मात्र १२-१३ वर्षको उमेरमा चर्चाको शिखरमा पुगेका थिए। तर उनको यो चम्किलो यात्रा छोटो रह्यो।समाजले सम्भावनाको उज्यालोमा देखेको एउटा नक्षत्र अस्तायो। बालक सचिन परियारको असामयिक निधनले सम्पूर्ण देशलाई मर्माहत बनाएको छ। बाल्यकालमै चर्चा पाएका सचिनको जीवनको यथार्थले समाजको धेरै पक्षलाई सोच्न बाध्य बनाएको छ।

बालबालिकाको अधिकार, माया, र संरक्षणको कुरा धेरै ठाउँमा लेखिन्छ र बोलिन्छ। तर, ती शब्दहरू व्यवहारमा लागू भए/नभएको प्रश्न यहाँ गहिरो छ। सचिनको सफलता र लोकप्रियताले उनलाई स्टार बनायो, तर त्यो चमकभित्र लुकेको अन्धकारलाई समयमै कसैले बुझ्न सकेन। परिवारको भूमिका यहाँ अत्यन्तै महत्त्वपूर्ण देखिन्छ। सही अभिभावकत्व र माया पाएमा एउटा बच्चाको जीवन कति सुन्दर र अर्थपूर्ण हुनसक्छ भन्ने कुरा यस घटनाले झल्काएको छ।

सचिनको निधनले मात्र होइन, उनको संघर्षले पनि हामीलाई सिकाउन सक्छ। समाज र परिवारको मूल कर्तव्य के हो? बालबालिकाको जीवनमा सही वातावरण र समर्थनको अभावले कस्तो त्रासदी ल्याउन सक्छ? यी प्रश्नहरूले हामीलाई गहिरो आत्मचिन्तन गर्न बाध्य बनाएको छ।

उनलाई लोकप्रिय बनाउनेहरू, उनको भविष्यका लागि प्रयास गर्नेहरू, र उनको जीवनमा सकारात्मक प्रभाव ल्याउन खोज्नेहरूप्रति पनि समाजले उत्तरदायी हुनुपर्छ। तर, ती प्रयासहरू पनि परिवारको सहमतिबिना सफल हुन सक्दैनन्।

आज, सचिन यो संसारमा छैनन्, तर उनको सम्झनाले हामीलाई धेरै कुरा सिकाउन सक्छ। बालबालिका साना हुन्छन्, तर उनीहरूलाई सही दिशा दिन र सहारा दिनु वयस्कहरूको कर्तव्य हो।

सचिन, तिमी अब हाम्रो माझ छैनौ, तर तिम्रो जीवनको कथा सधैं हामीसँग रहनेछ। तिमीलाई मृत्युको मुखमा पुर्याउने परिस्थितिहरूलाई सोचेर हामी समाजले सुधारका लागि कदम चाल्न आवश्यक छ।