झापा, हल्दिबारी – हल्दिबारी गाउँपालिका अन्तर्गत पशु उपचार अस्पताल भवनको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। पशुपालन र कृषि व्यवसायलाई सुदृढ बनाउन निर्माण गरिएको यो भवनले गाउँपालिकाका किसानहरूको लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सभापतित्व हल्दिबारी गाउँपालिकाका प्रमुख रविन्द्र लिङ्देनले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको उपस्थिति रहेको थियो। साथै, उपप्रमुख लक्ष्मी देवी मैनाली र प्रशासकीय अधिकृत मानबहादुर वन विशिष्ट अतिथिका रूपमा समारोहमा सहभागी हुनुभएको थियो।

प्रशासकीय अधिकृत मानबहादुर वनले कार्यक्रममा भवन निर्माणको औचित्यबारे प्रस्ट्याउँदै भन्नुभयो,
“२०८० साल चैत १२ गते यो भवन निर्माणका लागि सम्झौता गरिएको थियो, र सोही वर्षभित्रै निर्माण कार्य सम्पन्न भएको छ। कुल लागत ९९ लाख ४५ हजार ९०४ रुपैयाँ रहेको यस भवनको निर्माणमा प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा बजेट व्यवस्था गरिएको हो।”

अन्य गाउँपालिकाभन्दा पहिले पशु उपचार अस्पताल निर्माण सम्पन्न भएको प्रशासकीय अधिकृत वनले बताउनु भएको छ !

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राजेन्द्र लिङ्देनले भन्नुभयो,
“यो भवनले गाउँपालिकाका किसानहरूलाई पशुजन्य सेवा प्रदान गरेर उनीहरूको जीविकोपार्जनलाई सुदृढ बनाउनेछ। आधुनिक उपकरण र व्यवस्थापनका साथ अस्पताल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेछ।”

अस्पतालले पशुपालक किसानहरूलाई रोग उपचार, खोप वितरण, र प्राविधिक तालिम जस्ता सेवाहरू व्यवस्थित रूपमा प्रदान गर्नेछ। यसले किसानहरूको पशु पालन व्यवसायलाई थप व्यवस्थित र फाइदाजनक बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

हल्दिबारी गाउँपालिकाले यस अस्पताल निर्माण गरी अन्य पालिकाभन्दा अगाडि रहेर पशुपालन क्षेत्रको विकासमा ऐतिहासिक कदम चालेको कार्यक्रमका वक्ताहरूले बताए। अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, किसान, सरोकारवाला निकायका प्रतिनिधिहरू, र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय किसानहरूले यो अस्पताल निर्माण भएपछि पशुपालन व्यवसायमा आएको सहजताबारे आभार व्यक्त गरे।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अस्पताललाई अझ प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने र थप सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। यस भवनमार्फत गाउँपालिकाले पशुपालन र कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।