Advertisement

भद्रपुर । झापा कारागार भद्रपुरभित्र कैदीबन्दीले लगाएको आगो निभाउने क्रममा एक जना दमकल कर्मचारी घाइते भएका छन् । भद्रपुर नगरपालिकामा कार्यरत नगर प्रहरी तथा दमकल कर्मचारी ओमप्रकाश राजवंशी घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । खुट्टाको लिगामेन्ट भाँचिएकोले १५ दिन हिनडुल नगर्न चिकित्सकले सल्लाह दिएको जनाइएको छ ।

हाल उनी घरमा आराम गरिरहेका छन् । शुक्रबार दिउँसो साढे २ बजे कारागारभित्र आगो लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि भद्रपुरको दमकल तत्काल घटनास्थल पुगेको थियो । भित्र जाने अवस्था नभएपछि दमकल कर्मचारीहरू कारागार गेट अगाडि नै दमकल राखेका थिए ।

दमकलमाथि चढेर कारागारभित्र पानीको फोहोरा हान्ने क्रममा कैदीबन्दीले भित्रैबाट ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गाबाट ज्यान जोगाउने क्रममा कर्मचारीहरू दमकलमाथिबाटै हाम फाल्दा राजवंशीको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको हो । भद्रपुरका दमकल कर्मचारी र नगर प्रहरीको बिमासँगै सुरक्षा उपकरण नहुँदा उनीहरूको ज्यान जोखिममा रहेको बताइएको छ ।  

Advertisement