Advertisement

भारत/भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथधामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

उक्त ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन् ।

त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ । शुक्रबारबिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन । बेपत्ता नेपाली नागरिकको खोजी, विपद्मा फसेकाको उद्धार र राहत तथा मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न त्यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको छ ।

Advertisement