Advertisement

झापामा सोमबार पनि ९ वटा  सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गएराति झापाको शिवसताक्षी नगरपालिका–९ स्थित नहर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किदा चारजना घाइते भएका छन् । राति अन्दाजी १०.४५बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४६८७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प५०७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने ३१वर्षीय देवलाल राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीया ममता राजवंशी , स्कुटी चालक शिवसताक्षी ११ बस्ने ३०वर्षीय सबिन पौडेल र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने २५वर्षीय प्रबिन बस्नेत घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

हिजो दिउँसो अन्दाजी ३ः३० बजे कनकाई नगरपालिका वडा नम्बर ७ भृकुटी माध्यमिक विद्यालय अगाडी पूर्वपश्चिम राजमार्गमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००२ स ९९८ नम्बरको अटो र बिपरित दिशातर्फ आउँदै गरेको प्र.१–०२–०५१ प २४५२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी ७ जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका ९ बस्ने ४२ वर्षीय रामप्रसाद भट्टराई , मोटरसाइकलमा पछाडी सवार उनकी भाउजु ४० वर्षीया जानुका भट्टराई , अटो चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ३९ वर्षीय रामचन्द्र खतिवडा ,अटोमा सवार कनकाई नगरपालिका ४ बस्ने ३२ वर्षीया मिना खनाल , उनकै छोरी ५ वर्षीया बिपना, बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षीया बिपना खतिवडा र सोही ठाउँ बस्ने १२ वर्षीय दिवस खतिवडा घाइते भएका हुन् । उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुबै सवारीसाधन अस्थाई प्रहरी बिट दुर्गापुरमा राखिएको छ ।

त्यस्तै हिजो बिहान अन्दाजी ११.२० बजे दमक नगरपालिका वडा नम्बर–३ ढुकुरपानीस्थित भित्री पक्की सडकखण्डमा आम्दाबाट ढुकुरपानीतर्फ जाँदै गरेको मे १ ज २५७७ नम्बरको भेन आफै अनियन्त्रित भई सडक छेउको कल्भर्टमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा भेन चालक दमक नगरपालिका वडा नम्बर–७ बस्ने ५० वर्षीय रत्नबहादुर बिसुङ्खे , चालककी श्रीमती ४६ वर्षीया सितादेवी बिसुङ्खे ,चालककै छोरी ८ वर्षीया अन्जली बिसुङ्खे , सोही ठाउँ बस्ने १७ वर्षीया दुर्गा भट्टराई , ५१ वर्षीया देवी सुब्बा घाइते भएका हुन् । उनीहरुको आम्दा अस्पताल र दमक अस्पताल दमकमा उपचार भइरहेको छ ।

Advertisement

त्यस्तै हिजो साँझ ५.१० बजे भद्रपुर नगरपालिका ३ आँपगाछीस्थित मेची राजमार्गमा झापा चोकबाट महेशपुरतर्फ जाँदै गरेको मे ११ प ७९६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया फुलकुमारी राईलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।घाइतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक कचनकवल गाउँपालिका –६ बनियानी बस्ने अन्दाजी २५ वर्षीय टिकालाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ५.३५बजे कमल गाउँपालिका वडा न.३ सानो केर्खास्थित पूर्वपश्चिम राजमार्गमा दुधेबाट दमकतर्फ जाँदै गरेको को १ ख ७१४५ नं. को बसलाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ह ७६६८ नं. को अटोले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००२ ह ४५१७ नं. को सिटी सफारी समेतलाई ठक्कर दिएको थियो । दुर्घटनामा सिटीमा सवार इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने १४ वर्षीय सौजन गिरी ,कमल गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षीया लिलाकुमारी कोइराला घाइते भएका छन् । तीनवटै सवारीसाधन र चालक प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ ।

Advertisement

त्यस्तै हिजो दिउँसो १.२० बजे भद्रपुर नगरपालिका वडा नं.७ लेखनाथ चोकस्थित भित्री पक्की सडकखण्डमा लेखनाथ चोकबाट गार्मेन्ट चोकतर्फ जाँदै गरेको प्र.१–०१–०१६ प ९१७० नम्वरको स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०२–०४४ प ३७५२ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटरमा सवार मेचीनगर नगरपालिका वडा नं. ८ बस्ने ८ वर्षीय विवेश गिरी घाइते भएका छन् । घाइते बालकलाई उपचारको बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । मोटरसाइकल, स्कुटर, स्कुटर चालक भद्रपुर नगरपालिका वडा नं.७ सृजना टोल बस्ने १७ वर्षीय रिमेश गिरी र मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय भरत साहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे मेचीनगर नगरपालिका वडा नम्वर –६ भानुटोलस्थित भित्री पक्की सडकखण्डमा काँकडभिट्टाबाट सतिघट्टातर्फ जाँदै गरेको डब्लु बी ७४ ए एक्स ३९४७ नं.को भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका ७ बस्ने २७ वर्षीय अमर राजवंशी र पछाडी सवार सोही ठाउँ बस्ने २१ वर्षीय दिपेश राजवंशी घाइते भएका छन् । दुवैको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो दिउँसो १ः३० बजे कमल गाउँपालिका वडा नं.५ गेउरिया पुलमा काँकडभिट्टाबाट जनकपुर जाँदै गरेको ना ७ ख ६३४२ नं. को मुनाल बसका चालकले ब्रेक लगाउँदा बसभित्र सवार शिवसताक्षी नगरपालिका वडा नं. १ बस्ने ५७ वर्षीय प्रेमबहादुर भुजेल घाइते भएका छन् । सिटमा टाउको ठोक्किन पुगी निधारमा चोट लागेर घाइते भएका भुजेलको निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् सिटी स्क्यानको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको छ । बस र बस चालक धनुषा मिथिला नगरपालिका वडा नं.१० बस्ने ५३ वर्षीय रामबहादुर निरौलालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । यसअघि हिजो झापामा १० वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका थिए ।

त्यस्तै हिजो बिहान १०ः४० बजे गौरादह नगरपालिका वडा नम्बर ३ धोवनियास्थित गौरादह– गौरिगंज भित्री पक्की सडकखण्डमा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मे.११प४५९१नम्बरको स्कुटीर बिपरित दिशाबाट जाँदै गरेको मे १ ह ४०८८नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटी चालक गौरादह १बस्ने ३२वर्षीया सुशिला शेर्मा ,स्कुटीमा पछाडी सवार उनकै छोरा ९ वर्षीय सौगात लिम्बू ,सोही स्कुटी पछाडी सवार इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीया रीतु लिम्बू घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारको लागि मेडिम्याक्स अस्पताल गौरादह पठाइएको छ । अटोचालक कमल गाउँपालिका वडा नम्बर ५बस्ने ४२ वर्षीय मित्रबहादुर राई र अटो, स्कुटी इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको छ ।