Advertisement

बितामोड/ आँखा पाक्ने रोग फैलिरहेको कारणले झापाका अधिकांश स्थानीय तहले विद्यालय बिदा दिँदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका- ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ ।  लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत नानीबाबु, अभिभावक, स्थानीय गरी ८० जना बढीको आँखा परीक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले जानकारी दिइन् । बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक अर्याल र दृष्टि विशेषज्ञ भावना गनगाईको टोलीले आँखा परीक्षण गरेको थियो । 

आँखा पाक्ने रोगको परीक्षणसँगै नानीबाबुहरूको आँखामा हुने अन्य रोगहरूको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उद्देश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत विनोद दाहालले आँखा पाक्ने रोग व्यापक रुपमा फैलिरहेकोले सतर्क रहन सबैलाई आग्रह गरे । उनले आँखा पाकेको औषधी जुनसुकै मेडिकल पाइने भए पनि नेत्र विशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिए । दाहालले आँखा पाक्ने रोगको औषधि पनि कुनै कडा प्रकारको हुने र त्यसले आँखामा अर्को ठुलो समस्या पैदा गर्ने भएकाले नेत्र विशेषज्ञको सल्लाह अनुसार प्रयोग गर्न सवैमा आग्रह गरेका हुन् ।कार्यक्रममा राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल , जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

Advertisement