Advertisement

पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आइतबार देखि शुरु भएको छ ।

धामको नौ दिवसीय ४१ औं बार्षिक अनुष्ठान रुपमा विविध कार्यक्रम साथै बालाचतुर्दशीका दिन समापन हुने गरि महायज्ञ शुरु भएको हो । उद्घाटन समारोहका प्रमुख अतिथि, धामका ब्यासाचार्य तथा अन्तर्राष्ट्रिय कथाव्यास फाउन्डेसनका संस्थापक पण्डित कुबेर सुवेदीले पानसमा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेका हुन् ।

त्यस्तै प्रमुख कथा वाचक आचार्य पण्डित बालकृष्ण अर्यालले देवी भागवतको कथा वाचन र उपवाचक पण्डित चिरञ्जीवी ढुंगानाले पाठ पारायण गरेर उद्घाटन गरेका थिए भने शंकाराचार्य संस्कृत बेद विद्यापीठ साधुटारका व्यासाचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले यज्ञ, धामका दाता तथा पार्वती मन्दिर निर्माता विर्तामोड निवासी झुमा बस्नेतले ५१ हजार नगद प्रदान गरेर गल्ला प्रदान गरिन् । उद्घाटन क्रममा अर्जुनधारा नगरपालिका – ५ निवासी सरस्वता विमली र कृष्णकुमारी चिमरियाले धान्यचल पर्वत उद्घाटन गरेकी थिइन् ।

उद्घाटन समारोहमा अर्जुनधारा संस्कृत बेद विद्या पीठ (गुरु कुल ) का विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए । धाम समितिका अध्यक्ष नवीन गट्टानीको सभापतित्व र सदस्य भानु शिवाकोटीको सञ्चालन गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुवेदीले शुभकामना मन्तव्य राख्दै अक्षयकोषको लागि धामलाई २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरे ।

Advertisement

कार्यक्रममा यू.के लण्डन पशुपतिनाथ मन्दिरका संरक्षक निलहरि घिमिरे , पतञ्जली योगपीठ झापा अध्यक्ष देवीप्रसाद घिमिरे, शंकाराचार्य संस्कृत बेद विद्यापीठका व्यासाचार्य खतिवडा, धामका मुल अर्चक अग्नि प्रसाद सिग्देल, पार्वती मन्दिर निर्माता झुमा, उपाध्यक्ष भिमचन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । धामले बालाचतुर्दशी पर्वको अवसर पारेर महायज्ञ साथै योग तथा आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण महाराजको प्रमुख आतिथ्यतामा यही १९ गते देखि २४ गते सम्म पतञ्जली योगपीठका प्रशिक्षकहरुद्वारा शिविर सञ्चालन हुने भएकोले आम धर्मानुरागीहरुमा कथा श्रवण र योग शिविरमा सहभागी भई शिविरबाट फाइदा लिनका लागि अनुरोध गरेको छ ।

Advertisement