पूर्वी गर्जन मिडिया प्रा.लीले युवा पत्रकार नरेन्द्र ढकाललाई पुरस्कृत गरेका छन् । पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष ढकाललाई नगद १० हजार रुपैयाँ सहित जनपक्षीय सञ्चारकर्मीका रुपमा सम्मानसहित पुरस्कृत गरेको हो ।

पूर्वी गर्जन मिडिया प्रकाशनमा ल्याएको पूर्वी गर्जन मासिक पत्रका सार्वजनिकीकरण कार्यक्रममा ढकाललाई नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सी’ र पार्टीका केन्द्रीय सदस्य तथा मेची इन्चार्ज सुमन सिंह पौड्यालले सम्मान पत्र प्रदान गरेका थिए भने एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले नगद प्रदान गरेका थिए । हरेक वर्ष कोषको रकम बढाउँदै जाने र कोषको रकमबाट प्रत्येक वर्ष जनपक्षीय पत्रकार, एकीकृत जनक्रान्तिका सहिद परिवार र कम्युनिस्ट अग्रजलाई प्रोत्साहन स्वरूप सम्मान गरिने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल‘सी’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लीलाराज झापाली, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि लगायतले बोलेका थिए ।

एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले कोष स्थापना गर्नुको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा मेची इन्चार्ज सुमन सिंहको अध्यक्षतामा भएको थियो ।पार्टीका पश्चिम झापा सेक्रेटरी विनोद ‘सी’ले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार प्रवीण अधिकारीले गरेका थिए ।