Advertisement

झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला लाग्ने भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘दशैं महोत्सव तथा जुत्ता चप्पल मेला’ आयोजना गर्न लागिएको हो ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगमी भदौ २५ देखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । 


सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा मेला आयोजना गर्न लागिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिए । 
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । संयोजक उपाध्यायका अनुसार महोत्सवमा २५ स्टल रहने छन् ।उनले महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका जुत्ता चप्पल उपलब्ध हुने बताए ।


मेलामा दशैं तिहार लक्षित नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि आयोजकका नानीराज घिमिरेले बताए मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने  संयोजक उपाध्यायले जानकारी दिए । उनका अनुसार हरेक दिन जुत्ता खरीदमा फेसबुक लाइक र शेयर गरेमा २ प्रतिशत क्यास ब्याक समेत दिइनेछ । त्यस्तै पर्वको अवसरमा लक्की ड्र कुपनसमेत उपलब्ध गराइने उनले बताए । 

Advertisement