Advertisement

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन् । उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएको सय दिनको अवसर पारेर बुधबार उनले प्रौढका लागि स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा र नमुना विद्यालयलगायत कार्यक्रम पनि सुरु गरेका छन् । 

चितवन–२ का महिलाका लागि ३२ सिट क्षमताको बस सञ्चालन गरिएको छ । नीलो रङको बसलाई ‘ब्लु बस’ नाम दिइएको छ । बस चितवन–२ को शक्तिखोर, पदमपुर हुँदै भरतपुरसम्म लगभग २५ किलोमिटर दूरीमा चल्नेछ । बस सेवा लिने महिलालाई लामिछानेको तस्बिर अंकित विद्युतीय कार्ड दिइनेछ । कन्डक्टरले मेसिनमा कार्ड स्क्यान गरेर सेवा लिनेहरूको विवरण राख्नेछन् । तत्कालका लागि पाँच सय जनालाई कार्ड वितरण गरिएको छ । ‘सार्वजनिक यातायातमा महिलालाई सम्मान दिनका लागि नमुनाका रूपमा सेवा सुरु गरिएको हो । अभियानको प्रभाव हेरेर सेवा सुधार र विस्तार गर्दै लैजानेछौं,’ लामिछानेले भने । बसमा सुझाव पेटिका पनि छ । कपी र कलम पनि सँगै रहने भएकाले यात्राकै क्रममा लामिछानेलाई दिनुपर्ने सुझाव/गुनासो लेखेर त्यसमा खसाल्न सकिनेछ ।

लामिछानेले ६५ वर्षभन्दा माथिका नागरिकका लागि आधारभूत स्वास्थ्य परीक्षण गर्न ‘मोबाइल क्लिनिक’ सुरु गरेका छन् । एउटा भ्यानमा बस्ने टोलीले टोल–टोलमा गएर वृद्धवृद्धाको स्वास्थ्य अवस्था अनुगमन गर्नेछ । थप उपचार आवश्यक देखिएकालाई अस्पताल पठाउने र उपचार खर्चलगायत विषयमा समन्वय पनि गर्ने लामछिानेले आश्वासन दिएका छन् । भरतपुर–१ को रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माविलाई नमुना विद्यालय बनाउने अभियान पनि सुरु भएको उनले जानकारी दिएका हुन् ।

पहाडी इलाका इच्छाकामना गाउँपालिका भाराङमा कक्षा ७ सम्म पढाइ हुने आधारभूत विद्यालयलाई १२ कक्षासम्म पढाइ हुने नमुना आवासीय विद्यालय बनाउने लामिछानेले बताएका छन् । विदेशमा पढेका र सीप सिकेका सय जनाका लागि चितवनमा रोजगारको ग्यारेन्टी गरेको पनि उनले जानकारी दिए । लामिछानेले भरतपुर–११ मा आफ्नो सम्पर्क कार्यालय (सचिवालय) समेत स्थापना गरेका छन् । सचिवालयको प्रमुख कार्यकारी (सीईओ) मा हेमन्त बराललाई नियुक्त गरिएको छ । सूचना प्रविधिका ज्ञाता बराल बेलायतमा अध्ययन गरेर फर्केको लामिछानेले जनाएका छन् ।

Advertisement

लामिछाने गत वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन–२ बाट ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए । त्यसअघि मंसिर ४ को निर्वाचनमा विजयी भएका उनको सांसद पद नागरिकता मुद्दाका कारण अदालतबाट खारेज भएपछि उपनिर्वाचन गराइएको थियो । पुरानो नेपाली नागरिकता ब्युँताएर उनले उपनिर्वाचनमा भाग लिएका थिए ।

Advertisement