बिर्तामोड झापा- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नेपालमा पनि पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।

“हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।” उहाँले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो ।