बिर्तामोड । उद्योग वाणिज्य संघ बिर्तामोडको आसन्न निर्वाचनका लागि व्यवसायीहरु यतिबेला सबल नेतृत्वको खोजीमा छन् । स्थापनाको चौथो कार्यकालका लागि उवा संघले आगामी फागुन १४ गतेको निर्वाचनबाट नयाँ नेतृत्व पाउँदैछ । १९ पदका लागि ३९ उम्मेदवार यतिबेला व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् ।

परिवर्तित समय, आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रको उचित सम्बोधनका साथ काम गर्ने नेतृत्व खोजी गर्ने बिषयमा व्यवसायीहरु आपसमा छलफलमा जुटेका छन् । पूर्वकै प्रमुख व्यवसायीक क्षेत्र बिर्तामोडको आगामी नेतृत्वले उवा संघलाई साझा छाता संस्थाको रुपमा अगाडी बढाउनु पर्ने अधिकांश व्यवसायीहरुको भनाइ छ । उवा संघलाई राजनीतिभन्दा पर राखेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको उद्योग वाणिज्य संघ बिर्तामोडको निर्वाचनमा सदस्य पदका लागि राकेशकुमार सिंहले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् । उवा संघ बिर्तामोडका संस्थापक सदस्य सिंह विगत २५ बर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छन् । हाल उनी नेसनल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक हुन् । बिर्तामोडको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रलाई गहिरो अध्ययन गरेका युवा व्यवसायी सिंह उद्योग वाणिज्य संघलाई सबैले साझा छाता संस्थाको रुपमा महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् ।

नेपाल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोमेकानिकल संघ (नेरेमा)को पूर्वाञ्चल इकाइमा ९ बर्ष अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका सिंह हाल केन्द्रीय सञ्चालक सदस्य छन् । सहयोगी, मिलनसार र हँसिला उनी व्यवसायीहरुमाझ लोकप्रिय छन् । व्यवसायीक हितका लागि सदैव लागिपर्ने सिंह उवा संघले ठोस कार्यक्रम बनाएर व्यवसायीक हितका लागि काम गर्नु पर्ने बताउँछन् । बिर्तामोडमा विगतको नेतृत्वले व्यवसायीक क्षेत्रमा उदाहरणीय काम गर्न नसकेका कारण संघप्रति नै व्यवसायीहरु निराश बन्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्छन ।

दुई दशकदेखि बिर्तामोडको व्यवसायीक क्षेत्रलाई नियालेका सिंह व्यवसायीहरुको पीडा र मर्मलाई राम्रोसँग बुझेका कारण उवा संघमा काम गर्न सहज हुने बताउँदै आगामी फागुन १४ गते हुने निर्वाचनमा आफुलाई विजयी गराउन सबैलाई आग्रह गर्दछन् ।