बिर्तामोड, झापा | २०८२ जेठ २८
झापाको बिर्तामोड नगरपालिका–४, भद्रपुर रोडस्थित यामाहा शोरुम नजिक रहेको एक विद्युत पोलमा आज आगलागी भएको छ। विद्युत सर्ट सर्किटबाट सुरु भएको आगोले पोलमा जोडिएका विद्युतीय उपकरण र तारहरू पूर्ण रूपमा नष्ट गरेको छ।

स्थानीयवासीहरूका अनुसार सो पोलमा नेपाल विद्युत प्राधिकरणका तारसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको तार पनि अव्यवस्थित रूपमा झुण्ड्याइएको थियो। तारहरू अत्यधिक संख्यामा गुँजिएका र सुरक्षा मापदण्डको बेवास्ता गरिएको हुँदा आगलागीको जोखिम बढेको उनीहरूको भनाइ छ।

घटनाको खबर पाएलगत्तै बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो। मानवीय क्षति भने नभएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

यस घटनाले बिर्तामोडको सडक छेउमा जथाभावी झुण्ड्याइएका इन्टरनेट र केबल तारहरूको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरू अब यस्ता पोलहरूमा सुरक्षा मापदण्ड अपनाउन र सम्बन्धित निकायबाट अनुगमन गर्न माग गरिरहेका छन्।