बिर्तामोड । झापाको बिर्तामोडमा २ करोड ५० लाखको लागतमा गायत्री माता मन्दिर स्थापना भएको छ । युवा उद्यमी रोनक बंशलको सक्रियतामा बिर्तामोडमा गायत्री मन्दिर स्थापना भएको हो ।
स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकारसमेतको आर्थिक सहयोगमा मन्दिर निर्माण भएको हो । २०८० जेष्ठ १७ गतेबाट निर्माण आरम्भ भएको मन्दिरको ५ दिवसीय अनुष्ठानको आयोजना गरेर प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको बंशलले बताए ।
माघ १७ गते प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा कलश यात्रा गरिने, माघ २१ गते मन्दिरको प्राण प्रतिष्ठा  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको उनले बताए ।

अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त हमोहनशरण देवाचार्य महाराजको प्रवचन कार्यक्रम राखिएको छ । यसका अतिरिक्त प्रत्येक दिन भजन किर्तन र महाप्रसाद वितरणको कार्यक्रम राखिएको बंशलले बताए ।
कार्यक्रम संयोजक बंशलले बिर्तामोडमा निर्मित यो झापाको चौथो गायत्री मन्दिर हो । यसअघि भद्रपुर, अर्जुनधारा र कनकाईमा गायत्री मन्दिर स्थापना भएको छ । बैदिक सनातन धर्मका अनुसार गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रुपमा लिने गरिन्छ ।