बिर्तामोड, झापा – झापाको बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको भेलागुडीमा धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने विश्रान्ती घाट निर्माणको कार्य सुरु हुने भएको छ। हालै सम्पन्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट १७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएपछि घाट निर्माणको प्रक्रिया अघि बढाइएको हो।

बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीका अनुसार भेलागुडी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकास गर्ने दीर्घकालीन योजना अन्तर्गत विश्रान्ती घाट निर्माण गर्न लागिएको हो। वडाध्यक्ष कार्कीले वडाबाट आवश्यक सहयोग र समन्वय गरिने पनि जानकारी दिए।

उनका अनुसार, “यो स्थानलाई धार्मिक दृष्टिले मात्र होइन, सामाजिक र सांस्कृतिक दृष्टिले समेत आकर्षणको केन्द्र बनाउने हाम्रो उद्देश्य हो।”

स्थानीयवासी, धार्मिक अगुवा र समाजसेवीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको श्रीमद्भागवत सप्ताह महायज्ञको सफलताले निर्माण कार्यमा थप उत्साह दिएको छ। विश्रान्ती घाट निर्माणपछि त्यस क्षेत्रमा धार्मिक कार्यक्रम आयोजना गर्न, दर्शनार्थी तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।

भेलागुडी क्षेत्र विगतदेखि नै पवित्र धार्मिक आस्थाको केन्द्र मानिँदै आएको छ। घाट निर्माणसँगै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।