झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका वडा नं. ९ स्थायी घर भई हाल गौरीगञ्ज–३ सयपत्री टोलमा डेरा गरी बस्ने ३० वर्षीय बल बहादुर श्रेष्ठ रहेका छन्। उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए।

आज (मंगलबार) बिहान ६:३० बजेको समयमा खेतमा आली खन्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोली घटनास्थलमा पुगेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।