चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले रिलिज मिति केही पर भए पनि प्रचारप्रसारको अभियान सुरु गरिसकेको छ। प्रचारको सुरुवात नै निकै फरक शैलीमा गरिएको छ – एआई (कृत्रिम बुद्धिमत्ता) को सहयोगमा तयार गरिएको भिडियोमार्फत।

निर्माणपक्षले सार्वजनिक गरेको एक भिडियोमा रहस्यमयी पात्र हिममानव यति सिनेमा हल पुगेर सोधिरहेको देखिन्छ – “अभिमन्यु कहिले लाग्छ?”। भिडियोमा यति हिमाली क्षेत्रमा सिनेमा हल नभएकाले सहर झर्नैपर्ने अभिव्यक्ति दिइन्छ। अर्को भिडियोमा उसले पहिले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको र अब ‘अभिमन्यु : च्याप्टर–१’ हेर्ने भन्दै यो फिल्म भदौ २७ गते रिलिज हुने जानकारी दिएको देखिन्छ।

विशेषगरी एआईको माध्यमबाट सहज र कम खर्चिलो तरिकाले प्रचार सामग्री तयार गरिएको यस प्रविधि प्रयोगले नेपाली फिल्म उद्योगमा नयाँ ढोका खोल्ने सम्भावना देखाएको छ। निर्माणपक्षले यतिको प्रयोग किन गर्यो भन्नेबारे भने स्पष्ट नबताए पनि ‘अभिमन्यु’ जस्तो दुर्लभ र गहिरो सन्देश बोकेको चलचित्रको विशेषता देखाउन हो भन्ने अनुमान लगाउन सकिन्छ।

सय दिनको काउन्टडाउन पोस्टरसहित प्रचार सुरु गरिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सन को चरणमा रहेको छ। निर्देशक सुशान्त गौतम को डेब्यु निर्देशन रहेको चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रको कथा पैसाको प्रलोभनमा फसेको व्यक्ति चक्रव्यूहबाट उम्किन संघर्ष गर्ने विषयवस्तुमा आधारित छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल, सन्देश श्रेष्ठ रहेका छन्।

लेखक मुकेश खनाल, क्रिएटिभ निर्देशक मदन थापा, डिओपी शरद महतो, सम्पादक मदन घिमिरे, र मुख्य सहायक निर्देशक आकाश उखेडा रहेको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ विश्वव्यापी प्रदर्शन गरिने जनाइएको छ।