काठमाडौं । काठमाडौं महानगरपालिकामा बिहीबार मध्याह्न बुढानीलकण्ठ नगरपालिका सिमानानेर पर्ने कपन खोला माथिका संरचना हटाउने भन्दै दुई डोजर, ठूलो संख्यामा प्रहरीसहित गएको थियो
काठमाडौं वडा ७ को र बुढानीलकण्ठ नगरपालिका–१० को सिमाना खहरे खोला साततल्ले चोकमा नगर प्रहरी सहित डोजर पुगेपछि स्थिति तनावग्रस्त बन्यो । बुढानीलकण्ठका १० नम्बर वडाध्यक्ष नवराज भट्टराई स्थानीयबासीसहित डोजर रोक्न आइपुगेका थिए । सोही क्रममा काठमाडौं महानगर प्रहरीले भट्टराईलाई छेकेका थिए भट्टराईले आफूमाथि काठमाडौं नगर प्रहरीले बल प्रयोग गरेको बताए । ‘छलफलविना एक्कासी डोजर आएपछि के हो भनेर बुझ्न जाँदा म माथि दुव्र्यवहार भयो । हातपात गर्न खोजे, त्यसपछि स्थानीयले पनि विरोध गर्दा केही समय अवस्था बिग्रिएको हो,’ अनलाइनखबरसँग उनले भने ।
महानगरपालिकाले साँध–सिमानामा पर्ने स्थानमा सम्बन्धित पालिकासँग छलफल नै नगरी सडकपेटीबाट ठेला उठाउँदा गर्ने व्यवहार गरेको भन्दै उनले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ज्यादती गरेको आरोप लगाए ।‘माथिल्लो तहमा रिपोर्टिङ गर्नुस्, छलफल र समन्वय विना डोजर चलाउन मिल्दैन भन्दा, पाण्डेले एकदम हेपेर बोले । त्यसपछि नगर प्रहरीले दुव्र्यवहार गरे’, भट्टराईले भने ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने वडाध्यक्ष भट्टराईले डोजरको चाबी नै खोस्न आएको दाबी गरे । ‘महानगरको सम्पत्तिमाथि नै हमला गर्ने शैलीमा आउनुभयो, डोजर छेकेर तमासा गरेपछि महानगरले छेकेको मात्रै हो’, पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्