Advertisement

झापाको शिवसताक्षीमा दुई वटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका- ८ स्थित डुडामारीमा आइतबार बिहान ११:२५ मिनेटको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४२२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । प्र-१-०१-००१ ख ३४२२ नम्बरको बस यात्रु ओसार्न बस स्टेसनमा रोकी राखेको अवस्थामा प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

बसमा सवार १२ जना घाइते भएको उनले बताए । घाइते हुनेहरूमा झापा जिल्ला गौरादह नगरपालिका- १ का ४० वर्षीया सीता राजवंशी, गौरादह- ३ का ३५ वर्षीया सुनिता कँडेल, गौरादह- १ का ३५ वर्षीय प्रियङ्का चौधरी, शिवसताक्षी नगरपालिका- १ का ८३ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, शिवसताक्षी- ७ का २० वर्षीया सेनुम खजुम, शिवसताक्षी- ८ का २७ वर्षीया रञ्जना थेगिम, कनकाई नगरपालिका -३ का २१ वर्षीया अञ्जली कार्की, कनकाई- ३ का १७ वर्षीय नुमा लिम्बु, कनकाई- ४ का २१ वर्षीया अबिसा कार्की, कनकाई- ५ का ४० वर्षीया सरिता थोलुङ, इलाम फिक्कल- ११ का ३६ वर्षीय फुर्वा मोक्तान, मोरङ सुन्दरहरैचा- ३ का ६२ वर्षीया रिता कार्की रहेका छन् ।

घाइतेहरूको अनुहार, टाउको, खुट्टा, हातमा चोट लागेको छ । उनीहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको र अवस्था सामान्य रहेको डीएसपी रिजालले बताए । यता इलाका प्रहरी कार्यालय झिलझिलेले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ ।  प्र १-०१-००१ ख ३४२२ नम्बरको बस चालक मेचीनगर- ७ का २८ वर्षीय सरोज उराउ र  प्र- १-०२-००१ ख ९२६२ नम्बरको बस चालक मोरङ उर्लाबारी- ६ का ३० वर्षीय रामेश्वर धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement