प्राकृतिक प्रकोप कहिले, कहाँ, कस्तो रूप लिएर आउँछ भन्ने अनुमान गर्न कठिन हुन्छ।
झापाको बाह्रदर्शी गाउँपालिका–७ स्थित बत्तिसविगा क्षेत्रका किसानहरुले यतिबेला यस्तै विपत्तिको सामना गरिरहेका छन्। वर्षभरि रगत-पसिना बगाएर हुर्काइएको केरा खेती एकछिनको हावाहुरीले नष्ट पारेपछि उनीहरूको आशा र सपना भताभुंग भएको छ। उत्पादनको चरम बिन्दुमा पुगेको बेला आएको हावाहुरीले करिब ३५ विगा क्षेत्रफलमा फैलिएको केरा बगानमा क्षति पुर्याएको छ, जसले १८ जना किसानलाई प्रत्यक्ष मारमा पारेको छ। अब उनीहरू सरकार र स्थानीय निकायको सहयोगतर्फ आशावादी बनेका छन्।
हिजो आइतवार साँझ आएको भीषण हावाहुरीले बाह्रदर्शी गाउँपालिकाको बत्तिसविगा क्षेत्रमा लगाइएको केरा खेतीमा ठूलो क्षति पुगेको छ। करिब ४० विगा क्षेत्रफलमा फैलिएको केरा खेतीमध्ये ३५ विगा खेती पूर्ण रूपमा नष्ट भएको स्थानीय किसानहरुले बताएका छन्।
केवल पाँच मिनेटजति चलेको हावाहुरीले बर्षभरिको पसिनालाई चकनाचुर बनाइदिएको किसानहरुको गुनासो छ। “हामीले यो साल राम्रो आम्दानीको आशा गरेका थियौँ,” किसान कमल सुम्बाले भने, “तर त्यो आशा हावाहुरीसँगै उडेर गयो।”
क्षतिको अनुमानित ५१ लाख रुपैयाँमा पुगेको छ। प्रभावित किसानहरूमध्ये लक्ष्मी चिमरिया, कुलप्रसाद चिमरिया, कमल सुम्बा, चूडामणि सङगैला, सन्तोष उप्रेती, कपिल पोख्रेल, दुर्गाप्रसाद चिमरिया, शृप्रसाद सङौला, धनपति पाण्डे, बिमल पाठकलगायत १८ जना किसानको नाम उल्लेख गरिएको छ, जसको मेहनत र लगानी हावाहुरीले तहसनहस बनाएको छ।
स्थानीय तह र सम्बन्धित निकायसँग किसानहरुले क्षतिपूर्ति तथा राहतको माग गरेका छन्। किसानहरु अहिले गहिरो मानसिक तनावमा छन् र पुनःस्थापनाका लागि सरकारी सहायताको पर्खाइमा छन्।
प्रतिक्रिया दिनुहोस्