बिर्तामोड नगरपालिका वडा नं ६, टोल नं ३ कमिटीको आयोजनामा आज “वृद्ध लौरो वितरण” कार्यक्रम सम्पन्न भएको छ। वृद्ध समुदायप्रति सम्मान प्रकट गर्दै सहजीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर पवित्र महतारा प्रसाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मेयर प्रसाईले वृद्ध समुदाय समाजको आधारशिला भएको बताउँदै यस्ता कार्यक्रमले उनीहरूको जीवन सहज बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले वृद्धहरूको हकहितमा नगरपालिकाले आवश्यक सहयोग गर्न सधैं तयार रहेको पनि बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा (एमाले) बिर्तामोड नगर कमिटीका अध्यक्ष सुभाष भट्टराई हुनुहुन्थ्यो। उहाँले पार्टीले वृद्ध नागरिकहरूको सम्मान र सेवामा विशेष प्राथमिकता दिएको जानकारी गराउँदै यस्ता कार्यक्रमले पार्टीप्रति जनताको विश्वास अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पदम कन्दङ्वा, बद्रि प्याकुरेल, खेम अधिकारी, नवीन किशोर बिमली, गणेश कोइराला, राजकुमार दाहाल, सौरभ तिम्सिना, प्रजापति दाहाल, शिव वाग्ले, देवी प्रसाद अधिकारी, र चिरञ्जीवी चौधरी अतिथि रहेका थिए।
कार्यक्रमको अध्यक्षता टोल नं ३ का अध्यक्ष नेत्र खरेलले गर्नुभएको थियो। उहाँले वृद्धहरूको सम्मान र सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै समाजलाई सकारात्मक बाटोमा अघि बढाउन यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय वृद्धवृद्धालाई लौरो वितरण गरिनुका साथै उनीहरूलाई सम्मान गरिएको थियो। वृद्धहरूले यस्ता कार्यक्रमप्रति खुशी व्यक्त गर्दै आयोजकप्रति धन्यवाद प्रकट गरेका छन्।
कार्यक्रममा टोलका अन्य सदस्य, स्थानीय बासिन्दा तथा नेकपा (एमाले)का कार्यकर्ताहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्