बिर्तामोड, झापा – नेपाली विद्यार्थीहरूको उज्ज्वल भविष्य र मुलुकको समृद्धिका लागि अब पुस्तक केन्द्रित शिक्षाले मात्र नपुग्ने भन्दै सांसद राजेन्द्र लिङ्देनले व्यवहारिक र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

सोमबार झापामा आयोजित एक वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय सांसद लिङ्देनले भने, “अहिलेको शिक्षा प्रणाली व्यवहारिक हुन जरुरी छ। नेपाली विद्यार्थीहरूले जुनसुकै देशमा गएर आफूलाई सक्षम बनाउन सक्ने सीपमूलक र प्राविधिक शिक्षा दिनुपर्छ।”

उनले आधुनिक युगमा कम्प्युटर र डिजिटल शिक्षाको महत्त्व औंल्याउँदै भने, “विद्यालय भवन, पुस्तक र सामाग्रीहरू मात्र पर्याप्त हुँदैनन्, शिक्षाको गुणस्तर सुधार्नुपर्छ। आजको समयमा कम्प्युटर शिक्षा अनिवार्य गरिनुपर्छ, जसले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्छ।”

लिङ्देनले पछिल्लो समयमा शिक्षामा गुणस्तर खस्किएको भन्दै चिन्ता व्यक्त गरे। “पहिले थोरै स्रोतसाधन भए पनि शिक्षा दरो र भरपर्दो थियो। तर अहिले सुविधा सम्पन्न विद्यालयहरू भए पनि शिक्षामा अपेक्षित सुधार देखिएको छैन। यसलाई परिवर्तन गर्न नीतिगत सुधारको आवश्यकता छ,” उनले थपे।

शिक्षा क्षेत्रमा देखिएको बेथिति र भ्रष्टाचारतर्फ पनि उनले इंगित गर्दै भने, “नेताहरू मात्र होइन, सरकारी विद्यालयका शिक्षकहरूमा पनि भ्रष्टाचारको क्रम बढ्दै गएको छ। यसलाई रोक्न सशक्त निगरानी र सुधारको पहल गर्नुपर्छ।”

कार्यक्रममा लिङ्देनले विद्यार्थीहरूको विदेश पलायन रोक्न स्वदेशमै रोजगार र अवसर सिर्जना गर्ने शिक्षालाई प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार सीपमूलक र प्राविधिक शिक्षाले मात्र मुलुकको युवाशक्ति देशमै उपयोग हुन सक्छ।

कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधिहरू, विद्यार्थी, अभिभावक र अन्य अतिथिहरूको उपस्थिती रहेको थियो।