बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा शुक्रवार १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो ।

नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन् ।  उनले २०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात बिताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको जानकारी दिइन् ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले गरिबिको रेखामुनि रहेका ज्येष्ठ नागरिकलाई पुस, माघको जाडो छल्न कम्बल वितरण गरिएको बताए । यस वर्ष छुटेका ज्येष्ठ नागरिकहरूलाई अर्को वर्ष समेट्ने उनले जानकारी दिए । उनले नगरपालिकाले आगामी दिनमा योजना बनाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा समेत लाग्ने धारणा राखे ।

नगरपालिकाले गएका वर्षहरूमा प्रत्येक वडाबाट १०/१० जनाको दरले १ सय जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको सङ्ख्या बढेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारिसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिए।