भदौ २५/ हल्दिबारी–४ मा कानुन विषय सिक्ने-सिकाउने अभियानको औपचारिक शुभारम्भ गरिएको छ। यो अभियान हेम कर्ण के.सी.को नेतृत्वमा सुरु भएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शान्ता गहतराज, वडाध्यक्ष (कार्यवाहक)ले गर्नुभयो।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू जय प्रसाद पोखरेल (वडा सचिव), मन्जु दाहाल (महेन्द्र मा.बि. शिक्षिका), विष्णु दङ्गाल (न्यु स्टार अंग्रेजी विद्यालय), र विवेक दडाल (कृष्णसागर विद्यापीठ)को उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा अभियानकर्ता हेम कर्ण के.सी.ले कानुन सिक्न र सिकाउन अभियानको महत्वमा प्रकाश पार्दै यसको औचित्य प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि शान्ता गहतराजले शुभकामना मन्तव्य राख्दै कानुनी शिक्षा प्रत्येक नागरिकका लागि आवश्यक रहेको बताउनुभयो। अन्य अतिथिहरूले पनि आफ्नो धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना दिए।

दोस्रो चरणमा हेम कर्ण के.सी.ले सहभागी २५ जना विद्यार्थीहरूलाई कानुन विषयको प्रारम्भिक प्रशिक्षण प्रदान गर्नुभयो। कार्यक्रमले कानुनी सचेतनाको महत्त्वलाई जोड दिँदै, विद्यार्थीहरूलाई कानुनी आधारभूत ज्ञान दिने उद्देश्य राखेको छ।