झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु
२०८२ माघ १७, शनिबार ११:०७ गते
मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार यस संस्करणको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहनेछ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित नेपाल, भारत, भुटान र मलेसियाका गरी १० टोलीको सहभागिता रहनेछ।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको गोल्डकपका लागि करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यस वर्ष एक जना झापाली पूर्व फुटबल खेलाडी र रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५–२५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्